हेमा मालिनी यसरी बनिन् ड्रिम गर्ल

मुम्बई(एजेन्सी) बलिउड अभिनेत्री हेमा मालिनी आज शुक्रबार आफ्नो ७२ औं जन्मदिन मनाउदैछिन् । फिल्मी र राजनीतिक करियरमा सफल हेमाका बारेमा एउटा कुरा कमैलाई मात्र थाहा होला । उनी फिल्ममा आउन चाहिदन थिइन् । उनलाई नृत्यमा ठूलो प्रेम थियो र आफैंमा एक व्यावसायिक नर्तकी थिइन् । हेमाकी आमा उनी फिल्ममा पनि सफलता पाउन भन्ने चाहन्थिइन् ।

हिन्दी फिल्मको कुरा गर्दा हेमाको पहिलो फिल्म ‘सपनों का सौदागर’ थियो । यो फिल्ममा राज कपूर लिड हिरो थिए । फिल्मका निर्माता बी अनन्तस्वामी थिए । निर्माताहरु फिल्ममा चासो देखाउनका लागि एक वन लाइनर खोजिरहेका थिए । निकै चिन्तनपछि अनन्तस्वामीलाई एक आइडिया आयो र उनले हेमाको फोटोमुनि ‘राज कपूर्स ड्रिम गर्ल(राज कपूरकी ड्रिम गर्ल)’ लेखे । यो लेखाईले फिल्म प्रति दर्शकको चासो बढ्नेमा उनी विश्वस्त थिए ।

यसलाई पुरा गर्नका लागि उनले एक ट्यागलाइन ‘४५ वर्षीय राज कपूर २० वर्षीया हेमा मालिनीसँग’ नै बनाए । जुन आफैंमा एक पब्लिसिटी स्टन्ट थियो । तर यो स्टन्टले केही काम गरेन । फिल्मले औषत मात्र व्यापार गर्यो । फिल्म रिलिज पछि मिडिया र फ्यानले हेमालाई ‘ड्रिम गर्ल’ भनेर बोलाउन थाले । जुन नाम हेमाका लागि निकै फाइदाजनक रह्यो ।

हेमाले फिल्म ‘ड्रिम गर्ल’मा पनि प्रमुख भूमिकामा अभिनय गरिन् । धर्मेन्द्र स्टारर यो फिल्मको निर्देशन प्रमोद चक्रवर्तीले गरेका थिए । यो फिल्ममा राखिएको शीर्ष गीत निकै लोकप्रिय बनेको थियो ।