मुम्बई(एजेन्सी) । प्रायः ठूला कलाकारहरु व्यस्तताका बीच परिवारका लागि समय निकाल्न पाउदैनन् । यो अवस्थालाई हेर्दा कोरोना महामारी पछि लागु गरिएको लकडाउनले सबैलाई परिवारसँग बस्ने राम्रो माहौल बनाइदियो । यहीको कारण पनि हुनसक्छ धेरै नवविवाहित जोडीको परिवारमा नयाँ सदस्यको आगमन हुँदैछ । अर्थात् विशेषत अभिनेत्रीहरु कोरोनाकालमा आमा बन्दैछन् ।
अभिनेत्री अनुष्का शर्मा आउँदो वर्षको जनवरी अर्थात् २०२१ जनवरीमा आमा बन्ने तयारीमा छिन् । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी अनुष्का मातृत्वको अनुभव लिने तयारीमा छिन् । उनीहरुको यो पहिलो बच्च हुनेछ । आफूहरु अभिभावक बन्न लागेको क्रिकेटर विराट स्वयंले सामाजिक सन्जालबाट जानकारी दिएका थिए । यो जोडीले सन् २०१७ डिसेम्बर ११ मा इटलीमा विवाह गरेका थिए ।
अभिनेत्री करीना कपूर खानको दोस्रो सन्तान सन् २०२१ को फेब्रुअरी या मार्चमा हुने तयारीमा छ । अभिनेता सैफ अली खानकी दोस्री पत्नी करीना र सैफले एक प्रेस विज्ञप्तीमार्फत आफूहरु पुनः आमाबाबु बन्न लागेको जानकारी दिएका थिए । करीनाले सन् २०१६ डिसेम्बर २० मा पहिलो सन्तानका रुपमा छोरा तैमूरलाई जन्मदिएकी थिइन् ।
बलिउड अभिनेत्री सागरिका घाटगे पनि गर्भवती छिन् । सागरिका र टीम इण्डियाका पूर्व तेज बलर जहीर खान आमाबाबु बन्दैछन् । जहीर र सागरिकाले सन् २०१७ मा विवाह गरेका थिए । कोरोनाकालमा आमा बन्ने सूचीमा अभिनेत्री अमृता राव पनि पर्छिन् । अमृता पछिल्लो पटक एक क्लिनिक बाहिर बेबी बम्पमा देखिएकी थिइन् । अमृता र आरजे अनमोलको यो पहिलो बच्चा हुनेछ । उनीहरुले सन् २०१६ मा विवाह गरेका थिए ।
अभिनेत्री अनिता हसनदानी पनि आमा बन्दैछिन् । त्यसो त केही समययता सामाजिक सन्जालमा उनी गर्भवती भएको चर्चा पनि चलेको थियो । हालैमात्र एक भिडियो पोस्ट गरेर फ्यानलाई यो खुशीको खबर सुनाइन् । अनिताले गोवामा सन् २०१३ मा विवाह गरेकी थिइन् । टेलिभिजनका प्रख्यात अभिनेता करणवीर बोहरा र टीजे सिद्धुको घरमा पनि चाँडै नयाँ सदस्यको आगमन हुँदैछ । यो जोडीको यसअघि नै जुम्ल्याहा छोरी छन् । जसको नाम बेला र विएना हो ।