आमिरमाथि कोभिड प्रोटोकल उल्लंघनको आरोप

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । केही दिन अघिमात्र उनी उत्तर प्रदेशको गाजियाबादमा फिल्मको केही दृश्य छायांकन गरिरहेका थिए । तर त्यहाँ सुटिङ गर्नु उनका लागि घातक बनेको छ । त्यहाँका बीजेपी विधायक नन्द किशोर गुर्जरले आमिरमाथि कोभिड प्रोटोकल उल्लंघनको आरोप लगाएका छन् । विधायकले आमिरका विरुद्ध प्रहरीमा उजुरीसमेत दिएका छन् ।

समाचार अनुसार आमिर गाजियाबादमा रहेको खबर सार्वजनिक भएपछि उनका फ्यानहरु उनलाई भेट्न उत्साहित थिए । आमिरले पनि सबै फ्यानसँग तस्बिर खिचाए । तर त्यो बेला न आमिरले मास्क लगाएका थिए, न त त्यहाँ उपस्थित उनका फ्यानले नै । यहीकारणलाई कोभिड प्रोटोकलको उल्लंघन मानियो ।

यहीकारण रिसाएका बीजेपी विधायकले प्रहरीकोमा उजुरी दर्ता गराए । अब प्रहरीले आमिरमाथि कारबाही गर्छ या गर्दैन भन्ने चाहिँ हेर्न नै बाँकी छ । फिल्ममा आमिरसँगै करीना कपूरको पनि अभिनय रहेको छ । फिल्मका आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ ।