प्रिन्शा बनिन् गोल्डेन क्विन

काठमाडौं । टिभि स्टार्ट इन्टरनेशनल फेस्टिभलले अनलाइनमार्फत आयोजना गरेको अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा नेपालको प्रतिनिधित्व गरेकी प्रिन्शा खड्काले १६ देशका ४० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘गोल्डेन क्विन’को उपाधि जितेकी छन् । ७ वर्षीया प्रिन्शाले अनलाइनमार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता पाएकी हुन् ।

प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपालस्थित मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए । उनले गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी थिइन् ।

प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको गीत ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गरेकी छिन ।