लिसन टु मीमा आमाछोरीको कथा

सिड्नी । इन्डोनेसियन आमा तथा नेपाली बुवा विभोद डोटेलकी छोरी आइशा डोटेलको नयाँ गीत ‘लिसन टु मी’को भिडियो सार्वजनिक भएको छ । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक अघिल्लो चोटी नेपाली भाषाको गीत ‘गाडी गुड्छ नेपाली’ ल्याएकी थिइन् ।

प्रगति देवकोटाको शब्द रहेको ‘लिसन टु मी’मा सञ्जिव सिंहको संगीत छ । गीतमा आइशालाई प्रमिला राईले स्वरमा साथ दिएकी छन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । भिडियोमा दीपेश श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन छ । भिडियोमा विशेष शेरचनको सह–निर्देशन छ ।

गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ । आमा–छोरीको हरेक दिनका क्रियाकलापहरु गीतमा चित्रण गरिएका छन् ।

विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी आन्टी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटि अफ सनसाइन कोस्टमा अध्यापन गराउने प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन् । उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् । आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन् ।