फिल्मकर्मीलाई सञ्चारमन्त्रीको आश्वासन

काठमाडौं । कोरोना महामारी पछिको फिल्म क्षेत्रको वास्तविक अवस्था बुझ्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले शुक्रबार चलचित्र विकास बोर्डको अनुगमन गरेका छन् । मन्त्रीसहित मन्त्रालयका सचिव र तीन सहसचिवहरुलगायतको टोलीले चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गरेका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्रप्रसाद साँखी, सदस्य नरेद्र महर्जन लगायतले मन्त्री गुरुङ्गको स्वागत गरेका थिए ।

मन्त्री गुरुङ्गले बोर्डको नवनिर्मित नवरस सभा कक्षको पनि उद्घाटन गरे । बोर्डले बैठक, तालिम र फिल्म अवलोकनसमेत गर्नको लागि साउण्ड प्रुफ गरी ५.१ सराउण्ड साउण्ड सिस्टम, पब्लिक एड्रेसका सामाग्रीहरु सहितको अत्याधुनिक नयाँ नवरस सभा कक्षको निर्माण गरेको हो । उद्घाटनपछि बोर्डले आफ्नो स्थापना, उद्देश्य र अहिलेका रणनीतिहरुको बारेमा जानकारी गराएको छ । सदस्य सचिव साँखीले प्रस्तुत गरेको प्रस्तुतिमा बोर्डको अहिलेसम्मको अवस्थाको बारेमा ब्रिफिङ्ग गरेका थिए । यस्तै बोर्डका अध्यक्ष दाहालले कोरोना प्रभावका कारण फिल्म क्षेत्र शुन्य अवस्थामा रहेको प्रष्ट पारे । फिल्म क्षेत्र शुन्य अवस्थामा हुदाँ हजारौं फिल्मकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै चलचित्र क्षेत्रलाई विशेष प्याकेज सहित तत्काल सुचारु गर्नुपर्ने हुँदा यसको लागि आवश्यक सहयोग गर्न मन्त्री गुरुङ्ग समक्ष अनुरोध गरे ।

विदेशी फिल्मको प्रदर्शनबाट उठ्ने चलचित्र विकास शुल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न समस्याहरु देखिएकोले बोर्डको लागि छुट्टै बजेटको व्यवस्था गरिदिन अध्यक्ष दाहालले मन्त्री समक्ष अनुरोध गरे । नेपाली फिल्म क्षेत्रको प्रचारप्रसारका लागि विभिन्न देशमा अवैतनिक चलचित्र प्रतिनिधि नियुक्ति गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मन्त्रालयले सबै प्रक्रिया पुरा गरी तत्काल नियुक्ती गर्न सहज वातावरण सिर्जना गरिदिन समेत अध्यक्ष दाहालले अनुरोध गरे । चलचित्र विधेयक पास नहुँदा चलचित्र विकास बोर्डले नीति तथा योजनाहरु कार्यान्वयन गर्न कठिनाई भएकोले तत्काल चलचित्र विधेयक पास हुनुपर्ने बोर्डको धारणा रहेको अध्यक्ष दाहालले बताए ।

छायाङ्कनका लागि नेपाल, सबै प्रदेशमा छायाङ्कनस्थल, समाजिक सुरक्षा कोष मोडालिटी अन्तर्गत श्रमजीवि चलचित्रकर्मीलाई व्यवस्थापनलगायतका योजनाहरु अघि बढेको पनि अध्यक्ष दाहालले जानकारी दिए । मौलिक नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लाने र प्रचार प्रसार गर्नुपर्ने हुँदा त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बोर्डले जनाएको छ । बक्स अफिसको पूर्ण कार्यान्वयन गरी राज्यको आम्दानीमा समेत वृद्धि गर्नेगरी बोर्डले आन्तरिक तयारी थालेको समेत अध्यक्ष दाहालले बताए । फिल्म प्रदर्शन नभएसम्म नयाँ फिल्म निर्माण नहुने र निर्माण नभएसम्म हजरौंको रोजिरोटी गुम्ने हुँदा आवश्यक मापदण्डसहित तत्काल हल खोली चलचित्र क्षेत्रलाई पूर्ण चलायमान गर्नुपर्ने समेत अध्यक्ष दाहालले मन्त्रीज्यू समक्ष जोडदार माग गरे । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र बिकास बोर्डले धेरै परिवर्तनहरु गरेको बताउँदै वस्तुस्थितिमा देखिएका समस्याहरु मन्त्रालयको तर्फबाट समन्वय गर्दै समाधान गरिने बताए । बोर्डको सबै समस्या र बस्तुस्थिति बारे जानकारी पछि मन्त्री गुरुङले छिट्टै फिल्मले पनि कोल्टे फेर्ने दाबी गरे ।

बोर्डको बारेमा ब्रिफ लिँदै मन्त्री गुरुङले समस्याहरुको पहिचान गरी क्रमशः रुपमा समाधान गर्दै जाने बताए । समाजको यथार्थलाई प्रस्तुत गर्ने फिल्म क्षेत्र सबैको नजरमा परेको क्षेत्र भएको कारण यसको विकासको लागि कुनै ढिलासुस्ती नगर्ने बताए । नेपाललाई फिल्म सुटिङ्गको लागि केन्द्र र आकर्षण बानाउने गरी काम गर्न मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन दिएका छन् । कोरोना भाइरसको जोखिम अन्तर्राष्ट्रियस्तरमै हाबी भईरहेकोले यसको प्रभाव नेपाल र फिल्म क्षेत्रमा पनि भएको जिकीर गर्दै यथाशक्य यसको सम्बोधन गरिने र चलचित्र क्षेत्र चलायमान हुने मन्त्री गुरुङ्गले बताए । मौलिक चलचित्रलाई प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार गर्न समेत मन्त्री गुरुङ्गले निर्देशन दिए ।