अभिनय छोड्दै इमरान

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘जाने तू या जाने न’बाट अभिनयको शुरुवात गरेका बलिउड अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय लिएका छन् । इमरान अभिनेता आमिर खानका भान्जा हुन् । ‘देली बेली’ जस्तो फिल्ममा काम गरेका उनले यो फिल्मबाट निकै तारिफ पाएका थिए । इमरान लामो समयदेखि फिल्मी पर्दाबाट टाढिएका छन् ।

इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक सञ्चारमाध्यमसँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । ‘मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् । उनले अभिनय छोडिदिएका छन् । उनी मेरो सबैभन्दा नजिकका साथी हुन् । म उसलाई बिहान चार बजेपनि फोनमा भेट्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि चिन्दछौं’, उनले भनेका छन् ।

अभिनय छाडेर इमरानले के गर्दैछन् भन्ने प्रश्नमा अक्षयले उनले अभिनय छाडेर फिल्म निर्देशन गर्नसक्ने जनाउ दिएका छन् । फिल्मको बारेमा इमरानलाई राम्रो ज्ञान भएकाले पनि उसल निर्देशन गर्न सक्ने योजना बनाएको अक्षयले खुलाए ।

इमरान पछिल्लोपटक कंगना रनावतका साथ फिल्म ‘कट्टी बट्टी’मा देखिएका थिए । यसबाहेक उनले ‘जाने तू जाने ना’, ‘किडनैप’, ‘लक’, ‘आई हेट लव स्टोरी’ जस्ता फिल्ममा काम गरेका थिए ।