अडिसनमै असफल भएका यी कलाकार

मुम्बई(एजेन्सी) । पर्दामा देखिने फिल्मको पछाडि त्यसको तयारी निकै गम्भीर र व्यावसायिक हुन्छ । कलाकारको छनोटका लागि लिइने अडिसनदेखि अन्य प्राविधिक काम निकै कठिनपूर्ण हुन्छन् । यस्तो केही अडिसनमा अहिलेका नाम चलेका कलाकार समेत असफल भएका छन् ।

अभिनेत्री माधुरी दिक्षित ठूलो पर्दाको फिल्ममा प्रवेश गर्नु अघि एक टेलिभिजन सिरियल ‘बम्बे मेरी है’को एक पहिलो भागमा काम गर्थिन् । यद्यपि यो सिरियल कहिल्यै प्रसारण भएन । बताइए अनुसार यो सिरियलका निर्मातालाई माधुरीको अभिनय चित्त बुझ्दो लागेको थिएन ।

बलिउडको एक एपिक फिल्ममध्येको एक ‘जो जीता वही सिकन्दर’मा ‘शेखर’को भूमिकाका लागि अभिनेता अक्षय कुमारले अडिसन दिएका थिए । तर उनको अडिसन असफल भयो । त्यसपछि यो भूमिका दीपक तिजोरीले गरे ।

‘मसान’ र ‘उरीः द सर्जिकल स्ट्राइक’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेका अभिनेता विक्की कौशलले पनि कुनै समय अडिसनमा असफल हुनु परेको थियो । उनले फिल्म ‘भाग मिल्खा भाग’का लागि अडिसन दिए पनि उनी सफल हुन सकेनन् ।

अभिनेता रणवीर सिंहले पनि ‘भाग मिल्खा भाग’का लागि अडिसन दिएका थिए । तर यो अडिसनमा उनी सफल हुन सकेनन् र यो फिल्म अभिनेता फरहान अख्तराको पोल्टामा पर्यो ।

‘स्टुडेण्ड अफ द इयर’ र ‘बदलापुर’ जस्ता सुपरहिट फिल्म दर्शकलाई दिएका अभिनेता वरुण धवन पनि कुनै समय अडिसनबाट आउट हुनुपरेको थियो । फिल्म ‘धोबी घाट’ को अडिसनमा असफल भएपछि उनको स्थान प्रतिक बब्बरले लिएका थिए ।