आमिरलाई अदालतबाट राहत !

मुम्बई(एजेन्सी) । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानमाथि लागेको कानूनी झमेला विस्तारै कम हुँदै गएको छ । उनीविरुद्ध अदालतमा दायर क्रिमिनल पिटीशनलाई उच्च अदालतले खारेज गरिदिएको छ । छत्तीसगढ उच्च अदालतबाट उनले ठूलो राहत पाएका हुन् । सन् २०१५ मा असहिष्णुताका विषयमा आमिरको बोली विवादित बनेपछि उनका विरुद्ध रायपुरका दीपक दिवानले अदालतमा मुद्दा दर्ता गराएका थिए ।

आमिरले आफूलाई पत्नी किरणले देश छोड्न सुझाव दिएको त्यो समयमा बताएका थिए । यो बयानका विरुद्ध दीपकले तल्लो अदालतमा परिवाद पेश गरेका थिए । जसलाई अदालतले खारेज गरेको थियो । यसपछि उनले पुनरावेदन गर्दा पनि त्यसलाई अदालतले स्वीकारेको थिएन । दिवानले अधिवक्ता अमीकान्त तिवारीको माध्यमबाट उच्च अदातलमा निवेदन दिएका थिए ।

मामलाको सुनुवाई गर्दै अदालतले कसैको भनाईका कारण देशको अखण्डता वा सुरक्षाको विषयमा खतरा हुन्छ या हुन्न भन्ने विषयको तय गर्ने काम केन्द्र र राज्य सरकारको जाँचको विषय रहेको जनाएको छ । अदालतले यो मामलामा कोही पनि व्यक्तिलाई चोट पु¥याउने अनुमति दिन नसकिने बताएको छ ।