जसको विवाहलाई कोरोनाले छेकेन

मुम्बई(एजेन्सी) । कोरोना महामारीले विश्व नै अस्तव्यसत भइरहँदा केही भारतीय कलाकारहरुले भने यही मौकामा लगनगाँठो कसेका छन् । केही गायकगायिका, टेलिभिजन अभिनेता अभिनेत्री तथा बलिउडका कलाकारको विवाहले सबैलाई चकित पारेको हो ।

‘मिर्जापुर २’मा रोबिनको भूमिकामा अभिनय गरेर सबैको वाहवाही बटुलेका अभिनेता प्रियांशु पैन्युलीले प्रेमिका वन्दना जोशीसँग २७ नोभेम्बरमा विवाह गरे । उनीहरुले वर्षको शुरुवातमै विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना महामारीपछिको लकडाउनका कारण उनीहरुले विवाह सार्नुपरेको थियो । निकै लामो प्रतिक्षा पछि उनीहरुले देहरादूनमा परिवारका सदस्य तथा केही नजिकका साथीभाईमाझ उनीहरुले विवाह गरे । उनीहरु दुवैले डिसेम्बरमा मुम्बईमा रिसेप्सन दिँदैछन् ।

‘कुछ रंग प्यार के ऐसे भी’ र ‘ये रिश्ते है प्यार के’ अभिनेता शाहीर शेखले २८ नोभेम्बरमा प्रेमिका रुचिका कपूरसँग मुम्बईमा अदालती विवाह गरे । यो विवाहमा शहीरको अनस्क्रिन आमा सुप्रिया पिलगांवकर सहभागी थिइन् । विवाह पछि शाहीर गृहनगर जम्मू गए । जहाँ उनले विवाहको पार्टी हुँदैछ । उनीहरु सन् २०२१ मा परम्परागत विवाह गर्दैछन् ।

धर्मको पाइलामा चल्नका लागि अभिनय करियरलाई सदाका लागि छोडेकी अभिनेत्री सना खानले नोभेम्बर २० मा विवाह गरिन् । पूर्व अभिनेत्रीले गुजरातका व्यापारी असद सईदसँग विवाह गरिन् । यो एक गोप्य विवाह थियो । विवाहको तस्बिरलाई सनाले नै सामाजिक सन्जालमा राखेपछि त्यो तस्बिर भाइरल भएको थियो ।

चर्चित गायिका नेहा कक्कडले अक्टोबर २४ मा दिल्ली राइजिङ स्टार फेम रोहन प्रीत सिंहसँग विवाह गरिन् । विवाह अघि उनको गीत ‘नेहू दा व्याह’ रिलिज भएको थियो । यो विवाहलाई धेरैले प्रमोसनल स्टन्ट माने पनि उनले अक्टोबर २४ मा विवाह नै गरिन् । दिल्लीको गुरुद्वारमा विवाह गरेपछि उनीहरुले एक सानदार पार्टीकै आयोजना गरेका थिए ।

अभिनेत्री काजल अग्रवालले अक्टोबर ६ मा सामाजिक सन्जालको माध्यमबाट चाँडै विवाह गर्ने घोषणा गरेर सबैलाई चकित बनाइन् । उनले अक्टोबर ३० मा मुम्बईमा गौतम किचलूसँग विवाह गरिन् । गौतम इन्टेरियर डिजाइनर हुन् । ‘नाम शबाना’ फेम अभिनेता ताहेर शब्बीरले अक्टोबर ५ मा प्रेमिका अक्षिता गान्धीसँग विवाह गरे । दुवै लामो समयदेखि डेटमा थिए । उनीहरुले कोरोना महामारीका बीच अगष्टमा इन्गेजमेन्ट गरेका थिए ।

‘बाहुबली’का भल्लालदेव राणा दग्गुबतीले अगष्ट ८ २०२० मा मिहिका बजाजसँग विवाह गरे । दुवैले हैदराबादमा विवाह गरेका हुन् । यो विवाहमा सहभागी हुने सबैको कोरोना टेस्ट गराइएको थियो । चर्चित कमेडियन र खतरों के खेलाडीका एक प्रतियोगी बलराज सयालले प्रेमिका दिप्ती तुलीसँग अगष्ट ७ मा गोप्य विवाह गरे । उनीहरुको विवाह जलांधर, पन्जाबमा भएको थियो । दिप्ती एक संगीतकर्मी हुन् । उनको बलराजसँग पहिलोभेट चण्डीगढको एक स्टेज शोमा भएको थियो ।

टेलिभिजन अभिनेत्री नीति टेलरले अगष्ट १३ मा परिक्षित बावासँग गुडगाँवमा विवाह गरेकी थिइन् । नीति र परीक्षित स्कुलदेखिका साथी हुन् । दुवैले केही महिना अघिमात्र डेट शुरु गरेका थिए । तेलुगू अभिनेता निखिल सिद्धार्थले गत फेब्रुअरी ३ मा आफ्नी प्रेमिका डा. पल्लवी वर्मासँग इन्गेजमेन्टको घोषणा गरेका थिए । त्यसपछि उनीहरुले मे १४ मा परम्परागत रुपमा हैदराबादमा विवाह गरे । विवाहमा कोरोना निर्देशिकाको पालना गर्दै सीमित मान्छेलाई मात्र बोलाइएको थियो ।

तेलुगू अभिनेता नितिन रेड्डीले जुलाई २६मा शालिनी कुन्दुकुरीसँग परम्परागत रुपमा विवाह गरेका थिए । यो विवाहमा नजिकका मान्छेलाई मात्र बोलाइएको थियो । उनीहरुको विवाहमा उपस्थित हुने सबैले मास्क लगाएका थिए । बोल्डनेसका कारण चर्चामा आइरहने पुनम पाण्डेले सेप्टेम्बर १ मा प्रेमी सेम बम्बसँग विवाह गरिन् । विवाह पछि उनीहरु हनिमुनका लागि गोवा गएका थिए । तर विवाहको १० दिनमै दुईबीच झगडा भएपछि पुनम प्रहरी चौकीमा पुगेकी थिइन् ।

फिल्म ‘जीरो’ र ‘डीजे वाले बाबु’ गीतमा अभिनय गरेकी अभिनेत्री नताशा स्तानकोविकले यसैवर्ष क्रिकेटर हार्दिक पाण्डेसँग विवाह गरिन् । हार्दिकले जनवरी १ मा उनलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुले परम्परागत विवाहको संस्कारलाई पछ्याउदै गोप्य विवाह गरेका थिए । विगत ९ वर्षदेखि एकअर्कामा डेट गरिरहेका कुणाल वर्मापूजा बनर्जीले लकडाउनकाबीच १५ अप्रिलमा विवाह गरे । उनीहरुले सन् २०१७ मै इन्गेजमेन्ट गरे पनि कार्यव्यस्तताका कारण विवाह गर्न सकेका थिएनन् । उनीहरुले गत अप्रिल १५ मा विशेष कार्यक्रमकाबीच विवाह गरे । उनीहरुले विवाहका लागि जम्मा गरेको पैसा पीएम केयर फण्डमा दान गरेका थिए ।