चियानको घरमा बम विष्फोटको धम्की

मुम्बई(एजेन्सी) । एकपछि अर्को गर्दै दक्षिण भारतीय स्टारहरु अज्ञात समूहको निशानामा पर्न थालेका छन् । हालै मात्र अज्ञात समूहले दक्षिण भारतीय सुपरस्टार चियान विक्रमलाई उनको घरमा बम विष्फोट गराउने धम्की दिएको छ । जुन धम्कीपछि चेन्नाई प्रहरीले उनको सुरक्षा सतर्कता बढाएको छ ।

यो खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरु चिन्तित भएका थिए । उनलाई मनपराउने फ्यानहरुले अभिनेताको सुरक्षाको कामना गरेका थिए । यो खबर थाहा पाउनासाथ चेन्नाई प्रहरी बेसेन्टनगरस्थित अभिनेताको घरमा पुगेर खानतलासी गरेको थियो ।

प्रहरीले बम डिस्पोजल टोली र कुकुरको सहयोगले घरको खानतलासी गरेको थियो । तर पछि यो केबल हल्लामात्र साबित भयो । यसअघि थालापथी विजय, अजीत कुमार, सूर्या र रजनीकान्तको घर पनि बमले ध्वस्त पार्ने धम्की आएको थियो ।  चेन्नई प्रहरीले सोमबार बिहान एक अज्ञात फोन आएको थियो । जसमा अभिनेताको घरमा बम राख्ने धम्की दिएको थियो । प्रहरीले विल्लुपुरमका एक व्यक्तिले धम्की दिएको थाहा पाएपछि प्रहरी उक्त व्यक्तिको खोजीमा जुटेको छ ।

चियान दक्षिण भारतमा मेगा स्टारको सूचीमा पर्दछन् । उनले ‘आई’, ‘अन्नियान’ र ‘केदारम कोन्ड्रम’ जस्ता सुपरहिट फिलम दिएका छन् । हालका दिनमा उनी मणिरत्नमको निर्देशनमा बन्न लागेको फिल्म ‘पोन्नियन सेलवम’लाई लिएर चर्चामा छन् । फिल्ममा ऐश्वर्या राय बच्चन पनि देखिँदैछिन् । फिल्ममा प्रमुख अभिनेत्रीमा तृषा कृष्णन हुनेछिन् ।