आदित्यको विवाहमा खुलेर नाचे उदित–दीपा

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात गायक उदितनारायण झाका छोरा आदित्यनारायणले मंगलबार जुहुस्थित इस्कोन मन्दिरमा प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । दुवैले भगवानको अगाडि एकअर्कालाई माला पहिर्याएर पति–पत्नी स्वीकार गरे । यसअघि आदित्यको घरबाट जन्ती निस्किएको थियो । जसमा आदित्य पिता उदितसँगै खुलेर नाँचेका थिए । आदित्यकी आमा दीपानारायणले पनि छोराको विवाहमा खुलेर नाँचिन् ।

विवाहमा आदित्यले शेरवानी लगाउँदा उनकी दुलही श्वेताले लेहेंगा लगाएकी थिइन् । केही समय अघि एक अन्तरवार्तामा कोभिड १९ का कारण परिवारसँग नजिक रहेका आफन्त तथा साथी मात्र बोलाउने आदित्यले बताएका थिए । महाराष्ट्र सरकारले विवाहमा ५० भन्दा बढीलाई बोलाउन अनुमति नदिएकोले मन्दिरमा छोटो विवाह गर्ने उनको भनाई थियो ।

पिता उदितले बुधबार मुम्बईको एक पाँच तारे होटलमा हुने रिसेप्सनमा फिल्म उद्योगका ठूला स्टारलाई निम्तो दिइएको बताए । रिसेप्सनका लागि अमिताभ बच्चनदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई निम्तो पठाइएको छ ।