खलनायक सिक्वेलमा खलनायक टाइगर

मुम्बई(एजेन्सी) । कैयौं वर्षदेखि अभिनेता सञ्जय दत्तसँग आफ्नो सुपरहिट फिल्म ‘खलनायक’ सिक्वेल बनाउने सपना देखिरहेका निर्देशक सुभाष घई सायदै त यसपटक सफल हुँदैछन् । किनकी यसपटक सिक्वेल बनाउने योजना सुभाषको मात्र होइन, स्वयं सञ्जयको पनि छ । त्यसका लागि सञ्जयले सिक्वेलको कथा आफ्नो सोच अनुसार बनाएका छन् र त्यो कुरा उनले सुभाषलाई पनि बताइसकेका छन् ।

फिल्मको कथा सुभाषलाई पनि मनपरेको छ । तर अन्तिम निर्णय भने उनीहरुको एउटा भेटपछि नै हुनेछ । सुभाष सिक्वेललाई कुनै अर्को निर्देशकबाट बनाउने सोचाई पनि बनाइरहेका छन् । सिक्वेल बनेको अवस्थामा सिक्वेलमा ज्याकी श्राफको स्थानमा उनका छोरा टाइगर हुनेछन् ।

सञ्जयको सोच अनुसार फिल्ममा टाइगर श्राफ खलनायकको भूमिकामा हुनेछन् । सुभाषले फिल्ममा टाइगरले पिताको जस्तै एक इमान्दार प्रहरीको भूमिकामा चाहे पनि सञ्जयले भने उनलाई भिलेन चरित्र सुहाउने बताएका छन् । गत वर्ष रिलिज फिल्म ‘वार’मा टाइगर अभिनेता ऋतिक रोशनका साथ देखिएका थिए । जहाँ टाइगर भिलेन चरित्रमै थिए । सञ्जयलाई टाइगरको काम मनपरेपछि ‘खलनायक’को सिक्वेलमा उनलाई खलनायक नै बनाउने सोचाईमा पुगेका हुन् ।