अभिनेता वरुण धवनलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । भारतको चण्डीगढमा सुटिङ भइरहेको फिल्म ‘जुग–जुग जियो’को टिमका केही सदस्यलाई कोरोना पोजेटिभ भएको खबर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार वरुण धवन, कियारा आडवाणी र नीतू कपूर कोभिड–१९ को चपेटामा परेका हुन् । यी तिन कलाकारको कोरोना टेस्ट रिपोर्ट बिहीबार बेलुका आएको थियो । तर उनीहरुलाई कोरोना देखिएको हो या होइन भन्ने कसैले पनि पुष्टि गर्न सकेको छैन ।

तर फिल्मसँग जोडिएको सुत्रका अनुसार हालका लागि सुटिङ रोकिएको छ । हालैमात्र हिमाञ्चल प्रदेशमा बिदा मनाउनका लागि गएका अभिनेता तथा भाजपा सांसद सनी देओललाई पनि कोरोना संक्रमण भएको थियो । उनी हाल आइसोलेसनमा छन् ।

‘जुग–जुग जियो’ अप्रिल ३० मा अभिनेता ऋषि कपूरको निधनपछि नीतू कपूरको पहिलो फिल्म हो । नीतूले सुटिङका लागि जाँदै गर्दा एक तस्बिर सामाजिक सन्जालमा राखेकी थिइन् । यो फिल्ममा नीतू, वरुण र कियाराका अलावा अनिल कपूर प्रमुख भूमिकामा छन् । फिल्मको निर्देशन ‘गुड न्यूज’ निर्देशक राज मेहताले गर्दैछन् । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।