डान्स मास्टर लिल चाम्स विजेतालाई २५ लाख

काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । जो सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक समेत हुन् । यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह लगायत निर्माताको रुपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’की विजेता तेरियमा मगर, डान्स प्लस सिजन(२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् । शोमा होस्टको रुपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला पक्का भएका छन् । रीमा र सुमन दुबै एकसाथ होस्ट गर्न निकै आत्तुर रहेको बताउँछन् ।

निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ ।’ निर्माता केकी अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो रियालिटी शो कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ ।’

‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए । रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नुपर्नेछ ।