मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीले भारतमा मात्र होइन, विश्वभरको गति नै रोकिदिएको छ । यो महामारीका कारण बलिउडले पनि समस्या झेलिरहनु परेको छ । सोहीकारण निर्माताहरु आफ्नो फिल्मलाई हलमा रिलिज गर्न पाएका छैनन् ।
कोरोना भाइरसको महामारीका कारण भलै फिल्म उद्योग कम गतिमा हिडिरहेको होस्, तर अभिनेता रणवीर सिंहको रफ्तार भने बढ्दो छ । उनी कोरोना महामारीलाई फाइदाको रुपमा प्रयोग गरिरहेका छन् । उनी एक पछि अर्को गर्दै ८ फिल्ममा व्यस्त हुँदैछन् । यी आठ फिल्ममा केही फिल्मको छायांकन सकिएको छ भने केही फ्लोरमा छन् । बाँकी केही फिल्मको स्क्रिप्ट फाइनल चरणमा छ ।
रणवीर फिल्म ‘८३’, ‘सूर्यवंशी’ र ‘जयेशभाई जोरदार’को रिलिजको पर्खाइमा थिए । तर कोरोना महामारीको कारण यी फिल्म रिलिज हुन पाएनन् । महामारी कम हुनासाथ यी फिल्म हलमा लाग्नेछन् ।
रणवीर हालका दिनमा फिल्म ‘सर्कस’को सुटिङमा व्यस्त छन् । फिल्मलाई रोहित सेठ्ठीले निर्माण गरिरहेका छन् । यो फिल्मको छायांकन सकेपछि उनी करण जोहारको मेगा बजेट फिल्म ‘तख्त’मा व्यस्त हुनेछन् । करण पहिलोपटक एक पिरियड ड्रामा बनाउदैछन् । जसमा विक्की कौशल, अनिल कपूर, भूमि पेडनेकर, करीना कपूर खान, जाह्नवी कपूर र रणवीर सिंहजस्ता कलाकार देखिँदैछन् ।
यी फिल्मबाहेक जोया अख्तरको फिल्म, अली अब्बास जफरको ‘मिस्टर इण्डिया’ र यशराज ब्यानरको फिल्म ‘धूम ४’को तयारी पनि रणवीर गरिरहेका छन् ।