लासोजको सांगीतिक मेरो अतित

धरान । लासोज् ब्यान्डको पहिलो गीत ‘मेरो अतित’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम सन्देश लिम्बु, बेस गितार डेगोस राई र ड्रममा नविन गुरुङले साथ दिएका छन् ।

गीतको भिडियोमा आमा–छोराको संघर्षको कथा छ । सानैमा बाबु बितेपछि आमाले छोराको पालन पोषणका लागि गरेको कष्टपूर्ण संघर्ष र छोराले दुख गरेर पाएको सफलताको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा वास्तविक जीवनकै आमा–छोरा निका मोक्तान र युगान्त दाहालले अभिनय गरेका छन् । छोराको बाल्यकालको भूमिका युगान्तले गरेका छन् भने किशोर अवश्थाको भूमिका विमस पौडेल र युवावश्थाको भूमिकामा दिवस श्रेष्ठले अभिनय गरेका छन् ।

दिनम राईले निर्देशन गरेको भिडिओको छायाँकन किवा खिम्दुङ र अर्सु श्रेष्ठले गरेका छन् भने सम्पादन चमन राईले गरेका छन् । भिडियो लासोज् ब्यान्डको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । ब्यान्डको पहिलो भिडियोले युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।