सर्तसहित डिस्चार्ज भए रजनीकान्त

मुम्बई(एजेन्सी) । दुई दिनसम्म हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका सुपरस्टार रजनीकान्त डिस्चार्ज भएका छन् । आइतबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनी डिस्चार्ज भएको जानकारी दिएको हो । डाक्टरले रजनीलाई एक हप्तासम्म बेड रेस्ट, शारीरिक गतिविधि कम र कोरोनाबाट बच्न सल्लाह दिएका छन् । गत डिसेम्बर २५ मा रक्तचापमा भएको उतारचढाव र थकान महशुसका कारण ७० वर्षे अभिनेता अस्पताल भर्ना भएका थिए ।

अपोलो अस्पतालको विज्ञप्तीमा भनिएको छ, ‘रजनीकान्त २५ डिसेम्बर २०२० मा उच्च रक्तचाप र थकान महशुस भएपछि अस्पताल भर्ना भएका थिए । डाक्टरको टिमले निगरानीमै रहेर उनको उपचार गरेको थियो । उनको रक्तचाप अहिले स्थिर छ र उनी निकै आराम महशुस गरिरहेका छन् । उनको स्वास्थ्य अवस्थामा भएको सुधारलाई नियाल्दै उनलाई आजबाट अस्पतालदेखि डिस्चार्ज गरिएको छ ।’

डाक्टरले उनलाई पूर्ण रुपमा बेड रेस्टको सल्लाह दिएका छन् । ‘पुरानो ट्रान्सप्लान्ट स्टेटस, उच्च रक्तचाप र उमेरलाई मध्यनजर गर्दै उहाँलाई एक हप्तासम्म पूर्ण रुपमा बेड रेस्ट र नियमि रक्तचापको अनुगमन गर्न र सामान्य शारीरिक अभ्यास तथा तनावबाट जोगिन भनेका छौं’, अस्पतालले विज्ञप्तीमा उल्लेख गरेको छ ।अस्पतालमा भर्ना हुँदा पनि उनलाई पूर्ण रुपले बेड रेस्ट नै गराइएको थियो । उनलाई भेट्न आउन चाहनेलाई पनि भेट गर्न दिइएको थिएन ।