काठमाडौं । प्रेम कथानक फिल्म ‘हिँड्दा हिँड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिनको स्पट गोदावरी भएको फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिएका छन् । पहिलो दिन नायक सलोन बस्नेत र नवनायिका सानिया खानको सटसँगै फिल्मको छायांकन शुरु भएको हो ।
मिलन आले मगरको निर्देशन रहने फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवनायिका रेखा शाह, सानीया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेखेका हुन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मोडल कलेजसँगको सहकार्यमा निर्माणाधिन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सहनिर्माता रहेको फिल्म काठमाडौ र गाइघाटमा खिचिने छ ।
सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी हुनेछ । देव महर्जनले द्वन्द्व निर्देशन रहने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।