कटरीनाको फोटो जुम गरेर हेर्छन् सलमान !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफको भलै ब्रेकअप भइसकेको छ । तर यो जोडी आज पनि मिल्ने साथी छन् । सलमान कटरीनालाई कति धेरै फलो गर्छन् भन्ने कुराको झलक मुम्बई प्रहरीको इभेन्ट ‘उमंग’मा देखिएको थियो । जसको भिडियो सामाजिक सन्जालमा खुबै भाइरल भएको थियो ।

यो इभेन्टमा कमेडियन कपिल शर्माले सलमानलाई ‘के तपाईं कुनै फ्यानको प्रोफाइल फोटो जुम गरेर हेर्नुहुन्छ ?’ भनी सोधेका थिए । त्यसपछि उनले स्टेजमा रहेकी कटरीनातर्फ हेर्दै सलमानले ‘फ्यानको त होइन, तर यिनको हरेक फोटो आज पनि जुम गर्दै हेर्छु’ भनेका थिए ।

सलमान र कटरीना एक समय प्रेम सम्बन्धमा थिए । दुबैले ‘पार्टनर’, ‘युवराज’ र ‘एक था टाइगर’ जस्ता फिल्ममा अभिनय गरेका थिए । यी फिल्म हेरेपछि दर्शकले जबरदस्त रेस्पोन्स गरेका थिए । समाचार अनुसार सलमानको रिसाहा व्यवहारका कारण उनीहरुको प्रेममा खटपट भएको थियो ।

सलमानसँग ब्रेकअप पछि कटरीना रणवीर कपूरसँग डेटमा थिइन् । यद्यपि उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन । हालका दिनमा कटरीनाको नाम अभिनेता विक्की कौशलसँग जोडिएको छ ।