पूर्व क्रिकेटर सौरभलाई हृदयघात

नयाँदिल्ली(एजेन्सी) । बीसीसीआईका अध्यक्ष तथा भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीको छातीमा दुखाई भएपछि कोलकाताको एक निजी अस्पतालमा भर्ना भएका छन् । जिममा व्यायाम गरिरहँदा उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई त्यही नजिक रहेको वुडलेण्ड्स अस्पतालमा भर्ती गराइएको हो । बीसीसीआईका सचिव जय शाहले आफूले गांगुलीको परिवारसँग कुराकानी गरेको र उनको अवस्था ठिक रहेको बताएका छन् ।

‘दादाको अवस्था स्थिर छ । औषधिले सही काम गरिरहेको छ । म उनी चाँडै ठिक होऊन् भन्ने प्रार्थना गर्दछु’, उनले ट्वीटेका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गांगुलीको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

‘सौरभको स्वास्थ्य अवस्थाबारे जानकारी पाएर दुःखी छु । सुन्नमा आएको छ कि उनलाई माइल्ड कार्डिएक एरेस्ट भएको छ । जसकारण उनलाई अस्पतालमा भर्ना गरिएको छ । म उनी चाँडै ठिक होऊन भन्ने चाहन्छु । मेरो प्रार्थना उनी र उनको परिवारको साथमा छ’, उनले ट्वीटेकी छन् ।