अदालतले भन्योः ‘सुशान्त भलाद्मी मान्छे’

मुम्बई(एजेन्सी) । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बहिनी प्रियंका र मीतूले अदालतमा दर्ता गराएको याचिकामा बम्बई उच्च अदालतले सुनुवाई गरेको छ । सुनुवाई पुरा भएपछि अदालतले आफ्नो फैसलालाई सुरक्षित राखेको छ र सबै पक्षसँग आफ्नो स्वीकृतिलाई लिखित रुपमा संकलन गर्न निर्देशन दिएको छ । यसका लागि न्यायालयले सबै पक्षलाई एक हप्ताको समय दिएको छ । यो सुनुवाईमा बेन्चले सुशान्तको तारिफ पनि गरेको छ ।

सुनुवाईको समयमा न्यायाधिस एसएस शिन्धे र एमएस कार्णिकले सुशान्तलाई एक राम्रो व्यक्ति भएको बताएका थिए । उनीहरुले सुशान्तको अनुहार हेरेर जोकोहीले उनी राम्रो व्यक्ति थिए भन्ने सोच्न सक्ने न्यायाधिसको कथन थियो । ‘सुशान्तको अनुहार हेरेर जोकोही पनि यो भन्छ कि उनी भलाद्मी र प्यारो मान्छे थिए । उनको फिल्म एमएस धोनीलाई सबैले मनपराएका थिए’ न्यायधिस शिन्धेले भने ।

गत वर्षको जून १४ मा सुशान्तले आत्महत्या गरेका थिए । यसपछि सुशान्तको परिवारले उनको पूर्व प्रेमिका रिया चक्रवर्तीका विरुद्ध मुद्धा दर्ता गराए । यता रियाले गत सेप्टेम्बरमा सुशान्तका दुई बहिनी प्रियंका र मीतू तथा एक चिकित्सकका विरुद्ध प्रहरीमा उजुरी दिइन् । उनले उजुरीमा सुशान्तका दुई बहिनी र चिकित्सकले मिलेर आफूलाई बिना चेकअप दबाई दिएको उल्लेख गरेकी थिइन् । यो उजुरीलाई रद्द गराउनका लागि मीतू र प्रियंकाले उच्च अदालतमा एक निवेदन दिएका थिए । बिहीबार मात्र यो निवेदनमा सुनुवाई गर्दै न्यायधिसले यस्तो निर्णय लिएका हुन् ।