दाङ । कोरोना महामारीकै बिचमा फिल्म क्षेत्रलाई गतिशिल बनाउन फिल्म क्षेत्रसँग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नरहेको फिल्म क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको ‘चलचित्र बहस’ विषयक अन्तरक्रियामा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनिनसकेको भन्दै कम्तिमा हप्तादिनमा मात्रै फिल्म रिलिज हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।
फिल्म हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको बताए । उनले अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा फिल्म पनि पाउन नसकेको बताए । राम्रा फिल्म पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न सकिने उनको भनाई छ ।
चलचित्र निर्माता संघका केन्द्रीय सदस्य रोहित अधिकारीले कोरोना कहरकै बिचमा फिल्म रिलिज गर्न निर्माताहरु डराइरहेको बताए । कारोनाका कारण दर्शक नपाउने अवस्था रहेको भन्दै दर्शकलाई हलसम्म ल्याउने वातावरण निर्माण गर्नुपर्ने जनाए । फिल्म हल संचालनका लागि राज्य पनि गम्भिर नभएको भन्दै उनले अहिलेको अवस्थामा राज्यले फिल्म उद्योगीहरुलाई अनुदानको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए ।
फिल्म निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोना महामारी बन्द भएका हल संचालनमा चलचित्र विकास बोर्डको भूमिका कमजोर देखिएको बताए । उनले कोरोनाकै बिचमा फिल्म निर्माताहरु फिल्म दिन तयार रहेको बताउँदै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्नुपर्ने बताए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताए । उनले चलचित्र विकास बोर्डले हल संचालनका लागि आवश्यक सुरक्षा सामाग्री पहल गर्ने बताए ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीको प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली, हाँस्य कलाकार कमल गाउँले र पत्रकार शर्मिला डि.सी.ले कोरोना जोखिमकै बिचमा सबै क्षेत्र चलायमान भइसकेको अवस्थामा चलचित्र क्षेत्रलाई गतिशिल दिनुको विकल्प नभएको बताए । उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसीले गरेका थिए ।