श्याममोहनको काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा आत्मवृत्तान्त

काठमाडौं । पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ लोकार्पण भएको छ । काठमाडौंको होटल सांग्रिलामा शनिबार आयोजित कार्यक्रममा इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइस–जेभियर लेजर, नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा इतिहासविद् जोशीले यो पुस्तक समाज एवम् सर्वसाधारणका लागि प्रेरणादायी एवम् उपयोगी रहेको बताए । साथै पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको उनले बताए । उद्यमी एवम् लेखक शाक्यले पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए । श्याममोहन श्रेष्ठसँग आफ्नो मित्रता वर्षाैं पुरानो मित्रता रहेको र उनी सकारात्मक सोचले काम गर्ने व्यक्ति रहेको शाक्यले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि नेपालको आर्थिक सामाजिक विकासमा योगदान गरेका श्याम मोहन श्रेष्ठको पुस्तकले सबैलाई प्रेरणा प्रदान गर्ने धारणा राखे । पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई पनि उजागर गर्ने उनको भनाइ छ । उनले भने, पुस्तकले सबैलाई मोटिभेट गर्छ । सकारात्मक ऊर्जा प्रदान गर्छ ।  नेपालका लागि फ्रान्सेली राजदूत लेजरले यो पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे । यो पुस्तक फ्रान्सेली भाषामा समेत अनुवाद हुनुपर्नेमा उनले जोड दिए ।

‘साहस र आँटले डो¥याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन् । एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले पुस्तकमा जागिरे जीवनका आश्चर्यजनक उपलब्धि एवम् संघर्ष र मिहिनेतलाई पनि पंक्तिबद्ध गरेका छन् । साथै आफूले सानै उमेरमा गरेको साहसिक काम, कुनै पनि काम गर्छु भनेर आँटेपछि त्यसप्रतिको आफ्नो लगाव, सामान्य जीवनको अवस्थामा जागिर सुरु गर्दाका कठिनाइ, कुनै काममा असफल भए पनि त्यसमा लागिपरेर प्राप्त गरेका सफलता, प्रेम, वैवाहिक जीवन, नेपालमा पर्यटन उद्यम गर्दाका संघर्ष, धुलिखेलस्थित मिराबेल होटल स्थापनाको संघर्ष, नेपालका प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध आदिलाई पनि पुस्तकमा सजीव किसिमले श्रेष्ठले प्रस्तुत गरेका छन् ।

असनको त्यौड टोेल नजिकै बितेको बाल्यकालदेखि युवावस्थामा फ्रान्सकोे पेरिसदेखि अमेरिकालगायत मुलुकको भ्रमण गर्दा आफूले भोगेका विभिन्न पलहरूलाई पनि लेखक श्रेष्ठले पुस्तकमा समेट्ने प्रयास गरेका छन् ।