आस्था व्यस्त हुँदा भ्वाइस अफ नेपालमा तिर्सना

काठमाडौं । गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच आस्था राउतको स्थानमा गायिका तिर्सना गुरुङ आएकी छन् । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तिर्सनालाई कोचको रुपमा अनुवन्धित गरिएको हो ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तिर्सनाले बताइन् । ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै शो छाडेको बताए । अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ ।

शोमा कोचको रुपमा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए । यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।

यसैबिच, बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजन र विज्ञापनदाताहरुबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । ‘दि भ्वाइस अफ नेपाल’लाई ओप्पोले प्रस्तुत गर्नेछ । हिमालय टेलिभिजनका प्रमुख धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलले ‘दि भ्वाइस अफ नेपाल’का स्पोन्सरसँग संझौता साझेदारी गरेका थिए ।