के सलमान जेल जालान् ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानसँग जोडिएको कालो हिरण शिकार मामलामा आज सुनुवाई हुँदैछ । जोधपुरको जिल्ला एवं सेशन कोर्टमा अभिनेता सलमान उपस्थित हुनुपर्नेछ । कोर्टले सन् २०१८ अप्रिल ५ मा सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । त्यो सजायको विरुद्ध सलमानको अपिलमाथि आज सुनुवाई हुँदैछ । कोर्टले आदेश सुनाउदै मामलाका अर्का आरोपी अभिनेता सैफ अली खान, अभिनेत्री निलम तब्बु र सोनाली बेन्द्रेलाई रिहा गरेको थियो । तर सलमानलाई कोर्टले दोस्रोपटक जेल पठाएको थियो । यद्यपि तीन दिनपछि सलमान जमानतमा रिहा भएका थिए ।

जोधपुरमा आज जुन विषयमा सुनुवाई हुनेछ, त्यसमा कालो हिरण शिकार मामलामा सन् २०१८ अप्रिल ५ मा सलमानमाथि भएको पाँच वर्षको जेल सजायका विरुद्ध सलमानले हालेको निवेदनका विषयमा हो । अवैध हतियार राखेको मामलामा सलमानलाई रिहा गरिएको विरोधमा सरकारले अपिल गरेको थियो । यही विषयमा आज सुनुवाइ हुँदैछ ।

कालो हिरण शिकार मामलामा अन्य कलाकार रिहाई भएको विरोधमा विश्नोई समाजको अपिलमा पनि आजै सुनुवाई हुँदैछ । सलमानको वकिलले दिएको स्थायी हाजिरी माफीको निवेदनमा पनि आजै सुनुवाई हुनेछ । सलमानमाथिको सुनुवाई बिहान १० बजेदेखि शुरु हुनेछ ।

सलमान अदालतमा उपस्थित हुन्छन् या हुन्नन् भन्ने विषयमा केही जानकारी आएको छैन । किनकी यो मामलामा सलमान जिल्ला एवं सत्र न्यायाधीशको अदालतमा हालसम्म १६ पटक हाजिरी माफी लिइसकेका छन् । कोरोना कालमा उनले ६ पटक हाजिरी माफी मिलाइसकेका छन् । पछिल्लो सुनुवाई २०२० डिसेम्बर १ मा भएको थियो । त्यो दिन पनि सलमानको निवेदनमा उनको अदालतमा उपस्थिति नहुने विषयमा छुट दिएको थियो । २३ वर्षदेखि चलिरहेको यो मुद्दामा सलमानमाथि हालसम्म चार मुद्दा दर्ता भएका छन् ।