सत्यमले थाल्यो अडिसन कल

काठमाडौं । अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ फिल्म ‘सत्यम’को थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै फिल्मको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।

हमालसँगै अभिनय गर्ने अनुप बिक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ । ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपको चरित्रको लुक्स सहित छिट्टै पोस्टर सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताए । यो फिल्ममा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमती जनाएको निर्माता रेशम सापकोटाले बताए ।

‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो फिल्ममा काम गर्न सहमती जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै फिल्म टुडि (द्दम्) प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि द्दम् मा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए ।

यो फिल्ममा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा रहनेछन् । स्केच फोटोबाट फिल्ममा हमालको चरित्र अनुमान गर्न सकिन्छ । यसअघि फिल्म ‘सौर्य’मा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर अहिले व्यापक चर्चा छ । लामो समयपछि फिल्ममा फर्केका हमाल र भिलियनको रुपमा अत्याधिक रुचाईएका अनुपको भिडन्तको दर्शकमाझ व्यग्र प्रतिक्षा रहेको छ । यो फिल्ममा काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाईएको छैन । छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिशनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताईएको छ ।

अडिशनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताईएको छ भने अन्य २२ कलाकारहरु पनि अडिशनबाट नै छानिनेछन् । चार जना मूख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ ।

काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ । शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् । यो फिल्ममा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् । फिल्ममा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।

फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बश्यालले बनाएका हुन् ।