नेफ्टा अवार्डमा एलआइसीको शीर्ष प्रायोजन

काठमाडौं । फागुन अन्तिम साता हुन गइरहेको दशौं संस्करणको ‘नेफ्टा अवार्ड’को शीर्ष प्रायोजनमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ । अवार्ड आयोजक नेपाल चलचित्र प्राविधिक संघसँग दशौं अवार्डको लागि आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल र एलआइसीबीच गत शुक्रबार सम्झौता भएको हो ।

एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शीर्ष प्रायोजनवापत नेफ्टा अवार्डलाई एलआइसीले कति रकम उपलब्ध गरायो भन्ने खुलाइएको छैन । सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब ‘एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड २०७७’भएको छ । शीर्ष प्रायोजनमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी प्रायोजनमा जोय पपाया र अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल जोडिएको छ भने अवार्डलाई पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ । अवार्ड समारोहले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

कोरोना भाइरसको महामारीको कारण गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक कार्यक्रम यहि माघ २४ गते काठमाडौंमा हुनेछ । अवार्ड समारोह भने फागुन २९ गते हुनेछ । कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको फिल्म क्षेत्रलाई थप चलायमान र सक्रिय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए ।