मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार प्रभास र ‘तान्हाजी’ फेम निर्देशक ओम राउतको प्रतिक्षित फिल्म ‘आदिपुरुष’को मंगलबार मुम्बईबाट सुटिङ शुरु भएको छ । यो मेगाबजेटको फिल्म छायांकन शुरु भएकै दिन सुटिङ सेटमा भीषण आगलागी भएको छ । जसका तस्बिर तथा भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । आगो के कारणले लाग्यो भन्ने केही खुल्न सकेको छैन ।
समाचार अनुसार निर्देशक राउत र फिल्मको टिम सुरक्षित छन् । आगलागीका कारण के कति क्षति भयो भन्ने केही खुलेको छैन । ‘आदिपुरुषको मुम्बई गोरेगाउँस्थित सेटमा आगो लागेको छ । फिल्मका निर्देशकसहित टिम सुरक्षित छन् । यद्यपि ग्रीन स्क्रिन क्रोमा पूर्ण रुपले जलेको छ ।’फिल्मका व्यापार विश्लेषक सुमित कँडेलले ट्वीट गरेका छन् । आगो लाग्नासाथ घटनास्थलमा तीन दमकल पुगेका थिए ।
सुटिङ शुरु भए पनि सुटिङस्थलमा प्रभास र सैफ अली खान उपस्थित थिएनन् । यो फिल्म रामायणको कथामा आधारित छ । जसमा प्रभास श्रीरामको भूमिकामा छन् भने सेफ रावणको भूमिकामा देखिनेछन् ।