काठमाडौं । अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’को भिडियो सार्वजनिक भएको छ । निर्मलले यो गीतको रेकर्ड अमेरिकाको क्यालिफोर्नियामै गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलम्पाकी हुन् । गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका छन् ।
गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो ।
भिडियोमा नगेन्द्र राईको छायांकन र कोरियोग्राफी छ । जसमा किशोर खनालको सम्पादन रहेको छ । भिडियोलाई विकल्प फाउन्डेसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ ।
यस अघि नेपाल टेलिभिजनमा श्रष्टा आवाज कार्यक्रम निर्माता प्रस्तोताको रुपमा रहँदा निर्देशक राजेश थापाले ४४ वटा राष्ट्रिय भाव तथा जागरण गीतहरुको म्युजिक भिडियो निर्माण गरेका थिए । त्यसपछि पनि उनी यस्ता राष्ट्रिय भाव तथा जागरण गीतको भिडियो निर्देशनमा छन् । अन्य फुटकर एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका थापाले यसपटक यो देशभक्ति भावको गीतको भिडियो ल्याएका हुन् ।