नेपाल अफ्रिका फेस्टिभलमा तीन नेपाली फिल्म उत्कृष्ट

काठमाडौं । शुक्रबारदेखि काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा जारी ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१’ मा तीन नेपाली फिल्म उत्कृष्ट भएका छन् ।

फेस्टिभलमा वृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान(को–हजबेन्ड)’, हिमाल उप्रेतीको निर्देशन तथा भूपेन्द्रकुमार खड्का निर्देशित ‘आमा’ र माधवराज खरेल निर्मित तथा निर्देशित ‘दुर्गामाण्डु’ उत्कृष्ट भएका हुन् ।

‘सहायक श्रीमान’ले हिमाली भेगमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथा, ‘आमा’मा वृद्धा आमाबुबालाई वृद्धाश्रममा राख्नेहरुको कथा र ‘दुर्गामाण्डु’मा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्या देखाइएको छ ।

यी तीन वटै फिल्मलाई जनही ५ हजार रुपैयाँसहित ‘आदिम पुरस्कार’ प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारकर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले यी फिल्म चयन गरेका हुन् ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्वारा आयोजित नवौं संस्करणको फेस्टिभल समापनमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए ।

आयोजक संस्थाकी डा. मञ्जु मिश्रले आगामी वर्ष पनि फेस्टिभललाई निरन्तरता दिने बताइन् । फेस्टिभलमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा फिल्म प्रदर्शन गरिएको थियो ।