२१ वर्षमै ११ सन्तानकी आमा !

मस्को(एजेन्सी) । पहिलाको समयमा संयुक्त र ठूलो परिवारको चलन थियो । हरेक आमाबाबुका ८ देखि १० सन्तान हुन्थे । तर समयको बद्लावसँगै ठूलो परिवारको चलन पनि अन्त्य हुँदै गयो । आजकाल आमाबाबुहरु एक या दुई सन्तान मात्र जन्माउँछन् ।

तर रुसकी क्रिस्टिना ओज्टर्क यो मामलामा अलिक फरक देखिएकी छन् । अहिले उमेरले २३ वर्ष पुगेकी क्रिस्टिनाले २१ वर्षकै उमेरमा ११ सन्तानकी आमा बन्ने अवसर पाइन् । उनी अझै १०५ सन्तान जन्माउन चाहन्छिन् ।

बच्चाप्रति क्रिस्टिनाको निकै ठूलो लगाव छ । यहीकारण उनले ६ वर्ष अघि एक छोरीलाई जन्मदिइन् । त्यसपछि बाँकी बच्चा उनले सरोगेसीका माध्यमबाट जन्माइन् र आगामी दिनका लागि पनि उनले सरोगेसीकै माध्यम लिएकी छन् ।

क्रिस्टिना बातुमी शहरमा बस्छिन् र यही स्थानमा एक क्लिनिक छ, जहाँ उनी नियमित रुपमा सरोगेसीका लागि जान्छिन् । त्यहाँ गएर उनी सरोगेट महिला छनोट गर्छिन् । क्रिस्टिनाका अनुसार यो पुरा प्रक्रियाको जिम्मेवारी क्लिनिकले नै लिन्छ । उनी सरोगेट महिलाको सम्पर्कमा रहन्नँन ।

२३ वर्षकी क्रिस्टिनाले एक करोडपति व्यापारी गालिपसँग विवाह गरेकी छन् । गालिपको उमेर ५६ वर्षको छ । गालिप क्रिस्टिनाको हरेक चाहना पुरा गर्न चाहन्छन् । त्यहीकारण क्रिस्टिनाको धेरै सन्तानको चाहनामा गालिप सहमत छन् ।