बेइजिङ(एजेन्सी) । चीनमा पतिको धोकाबाजीबाट बच्नका लागि महिलाले नयाँ तरिका अपनाएका छन् । यस्तो तरिका सुनेर जोकोही अचम्मित हुन्छन् ।
पतिले धोका नदिओस् र अर्को महिलामाथि नलागुन भनेर केही महिलाले आफ्नो पतिलाई औषधि खुवाइरहेका छन् । ग्लोबल टाइम्समको रिपोर्ट अनुसार चीनमा श्रीमतिहरु आफ्ना श्रीमानलाई गुपचुप तरिकाले यस्ता औषधि खुवाइरहेका छन् । यो औषधि पुरुषलाई नपुंसक बनाउने किसिमका छन् ।
यी महिलाहरु पतिलाई डायथाइलस्टीलबेस्ट्रोल खुवाइरहेका छन् । यो औषधि एक किसिमको सिन्थेटिक एस्ट्रोजन हो, जसले पुरुषलाई इरेक्सन हुनबाट रोक्छ । चीनमा हालका दिनमा यसका किस्सा सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
केही महिलाले अनलाइनबाट औषधि माग गर्न थालेका छन् र ती औषधिलाई गोप्य किसिमले खाना वा पेय पदार्थमा मिसाएर पतिलाई दिने गर्दछन् । यो औषधि सेवन गरेपछि केही पतिहरुले आफ्ना पत्नीलाई धोका दिन छोडेका छन् ।
‘यो औषधि जसै मैले पतिलाई खुवाउन सुरु गरें, औषधिले दुई सातापछि असर देखाउन थाल्यो । यो औषधि सेवन गर्न थालेपछि पति घरमा नै बसिरहेका छन्,’एक महिलाले भनेकी छन् ।
एक औषधि पसलका व्यापारीका अनुसार यो औषधिले सामान्य रुपमा १५ दिन पछाडि असर देखाउन थाल्दछ । यो औषधि सेवन बन्द गर्नासाथ पुरुषको इरेक्सन क्षमता सामान्य रुपमा १२ दिनमै फर्कन्छ ।