रुचाइँदै रेलको बाटो

काठमाडौं । गायिका स्मृति शाहीको स्वरमा रहेको ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसले लोकप्रियता पाइरहेको छ । गीत ट्रेन्डिङको २० औं नम्बरमा छ ।

यसअघि मेल भर्सन सुरज पण्डितको स्वरमा थियो । कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतमा लेखराज गिरीको शब्द र सुरज पण्डितकै संगीत छ ।

गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा भने मोटरबाटो पुग्ने आशामा रहेका जनताको भावना समेटिएको छ । गीतको मेल भर्सनमा डोल्पाको समस्या देखाइएको थियो । भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटा फिचर्ड छन् ।

लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा मिलन विश्वकर्माको कलर, रवीन्द्र सुवेदीको सब टाइटल, पदम सुवेदीको सम्पादन, भीमसेन कल्याल ठकुरीको छायांकन छ । भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो तीन लाख ७० हजार बढी दर्शकले हेरिसकेका छन् भने दुई हजार बढी प्रतिक्रिया आएका छन् ।