माइतीघर २ का निर्देशक सुबोधको निधन

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गर्न लागेको नेपाली फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण भारतको मुम्बईमा निधन भएको छ ।

भुवनले सामाजिक सञ्जालमा सुबोध, भुवन र अनमोल केसीको तस्वीर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो’, उनले लेखेका छन् ।

भुवनले ‘माइतीघर २’ सुबोधको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गरेका छन् । भुवनका अनुसार फिल्मका लागि सुबोधसँग सम्झौताका सम्पूर्ण काम भइसकेको छ ।

सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् । भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’को कथालाई निरन्तरता दिँदै ‘माइतीघर २’ बनाउन लागेका हुन् ।