निर्देशक चेतन कार्कीको निधन

काठमाडौं । फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान निधन भएको हो । फिल्म निर्देशक प्रकाश सायमीका अनुसार उनको आइतबार बिहान १०ः १५ मा निधन भएको हो ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्ममा पाइला चालेका थिए । उनका श्रीमति र दुई छोरा छन् ।