काठमाडौं । हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा मंगलबार स्टाटस लेख्दै सरकारलाई कोरोनालाई पहिलो प्राथमिकतामा राखी सबैतिरबाट भ्याक्सिन ल्याएर जनतालाई भ्याक्सिन दिई जनताको ज्यान बचाउन सुझाव दिएका छन् ।
‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’ उनले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो । बेला बेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’
उनले सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले कोरोनाले आफूलाई जित्न नसकेको बताएका छन् । ‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ… ह्वाँ…रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो’, उनले लेखेका छन् ।
मदनकृष्णले शरीरमा केही मात्रामा शिथिलता भए पनि विस्तारै कम हुँदै गएको जनाएका छन् । आफूलाई डाक्टरहरुले शरीरमा एन्टीबडी बनिसकेको बताएको खुलाएका छन् । उनका अनुसार घरका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
‘जे होस बाँचियो बा !’, उनले लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद ।’