सुनसरी इनरुवामा रामकृष्ण र रिमाको रोमान्स

काठमाडौं । सुनसरी सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ गायक, संगीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एलबम बजारमा ल्याएका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी अहिले नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।

उमेशको शब्द र संगीत रहेको रिमेक भर्सनमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

गायक रामकृष्ण र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा अभिनित भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनको ‘एक्का बास्सा मिस्सी’, ‘वैशाख नि बित्यो’ बोलको गीतको भिडियो बजारमा आएको थियो । उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।