शाहरुखकै पथमा हिँड्दै सलमान

मुम्बई(एजेन्सी) । पछिल्लो फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ले सोचे जस्तो सफलता नपाएपछि अभिनेता सलमान खानले काम गर्ने शैलीमा परिवर्तन गरेका छन् । अभिनेता शाहरुख खानपछि सलमान पनि आफ्नो करियरलाई सही बाटोमा लैजानका लागि सावधानीपूर्वक फिल्म छनोट गरिरहेका छन् ।

यहीबीचमा सलमानले दक्षिण भारतीय दुई फिल्मको अधिकार किनेका छन् । जसमा एक साउथ सुपरस्टार थलापति विजयको फिल्म ‘मास्टर’ र अर्को रवि तेजाको ‘खिलाडी’ छ ।

सलमानले अभिनेता अजय देवगनको फिल्म ‘रेड’का निर्देशक राजकुमार गुप्तासँग एक्सन थ्रिलर फिल्मका लागि हात अगाडि बढाएका छन् । सलमानले सत्यघटनामा आधारित एक एक्सन थ्रिलर फिल्मका लागि निर्देशक राजकुमारसँग कुराकानी गरेका छन् ।

राजकुमार पनि सलमानको लोकप्रियतालाई हेर्दै आफ्नो प्रोजेक्टमा जोड्न उत्साहित छन् । यदि सबै कुरा फाइनल भएमा निर्देशक विजयकुमार दुई महिना भित्र प्रि–प्रोडक्सनको काम सुरु गर्नेछन् । फिल्मका लेखक पनि राजकुमार नै हुन् ।

सलमान हालका दिनमा फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन् । फिल्ममा कटरीना कैफले अनस्क्रिन रोमान्स गर्दैछिन् । फिल्ममा इमरान हासमीको पनि अभिनय रहनेछ ।