को होला त्योको टिकटकलाई २५ हजार पुरस्कार

काठमाडौं । लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ ।

गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ । निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय छ ।

गायक गिरीले ८ वर्षअघि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो ।

भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन र निर्देशन तथा मनोज कार्कीको सम्पादन र कलर छ । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।