अस्ताए अभिनेता दिलीप कुमार

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको बुधबार बिहान निधन भएको छ । ९८ वर्षे अभिनेता लामो समयदेखि अस्वस्थ दिए ।  बलिउडको ‘ट्राजेडी किङ’का रुपमा परिचित अभिनेताले बुधबार बिहान ७ बजेर ३० मिनेट जाँदा हिन्दुजा अस्पतालमा अन्तिम श्वास फेरे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । दिलीप कुमारको अफिसियल ट्वीटर हेण्डलबाट उनको निधनको जानकारी दिइएको हो ।

दिलीपको उपचारमा संलग्न अस्प्तालका डाक्टर पार्करले उनको निधनको पुष्टि गरेका छन् । दिलीप कुमारको पारिवारिक मित्र फैजल फारुखीले पनि अभिनेताको ट्वीटरबाट उनको निधनको जानकारी दिएका हुन् । ‘धेरै गह्रौं मनले यो कुरा भनिरहनु परेको छ कि अब दिलीप साब हामीमाझ रहेनन्’, उनले ट्वीट गरेका छ्न ।

दिलीप कुमारले आफ्नो पाँच दशकको करियरमा ६० बढी फिल्ममा अभिनय गरे । सन् १९२२ डिसेम्बर ११ मा ब्रिटिस इण्डियाको पेशावरमा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्म युसुफ खान थियो ।

अभिनेता राज कपूर उनको बाल्यकालकै साथी दिए । उनीमार्फत नै दिलीप कुमारले बलिउडको यात्रा सुरु गरेका थिए । उनले सन् १९६६ मा सायरा बानोसँग विवाह गरेका थिए । जो आफैंमा एक अभिनेत्री थिइन् ।

सायरा दिलीपभन्दा २२ वर्षका कान्छी थिइन् । अभिनेता दिलीपको निधन हुञ्जेलसम्म सायराले दिलीपको साथ छोडेकी थिइनन् । दिलीप कुमारले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल–ए–आजम’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ लगायतका फिल्ममा अभिनय गरेका थिए ।