फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

सिमकोट । पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ ।

फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताए । सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, तल्लो गाउँ, माथिल्लो र आसपास गाउँका बालबालिकाले फुटबल खेलको तालिम लिइरहेको उनले जानकारी दिए ।

साउन १५ गतेदेखि बिहान, दिउँसो र साँझ फुटबल तालिम नियमित सञ्चालन भइरहेको बताइएको छ । बिहानको समयमा ३० बालक सहभागी हुने गर्दछन् भने दिउँसो त्यो भन्दा दोब्बर एक सय बढीको सङ्ख्यामा बालिका सहभागी हुने गरेका अध्यक्ष रावतले बताए ।