मोनिकादेखि एटिनसम्म प्रबल

काठमाडौं । हलिउड प्लेटफर्म अमाजोनमा नेपाली फिल्म ‘एटिन’ रिलिज भइरहेको छ । यो फिल्म बेलायतमा बस्दै आएका प्रवल सोनम घिसिङ (प्रेम लामा)ले निर्माण तथा निर्देशन गरेका हुन् ।  विदेशमा बनेको नेपाली फिल्मले समेत प्राइम एमेजोनमा हलिउड र बलिउड ब्लकबस्टर फिल्मको हाराहारीमा स्थान पाउनुलाई गर्वका रुपमा लिनुपर्ने निर्माता तथा निर्देशक प्रवल बताउँछन् । ‘यो आम नेपाली फिल्मकर्मीका लागि खुसीको कुरा हो’, उनी भन्छन् । फिल्ममा १८ वर्ष कटेपछिमात्र मानिस वैधानिक हुन्छ भन्ने सन्देश दिइएको छ ।

प्रवल सोनम घिसिङ (प्रेम लामा) नेपाली कला–साहित्य, संस्कृति र संस्कारप्रति सानैदेखि झुकाव राख्थे । उनी करिब तीन दशकअघि बेलायत पुगेका हुन् । सन् १९९१ मा ‘केयर इम्प्लोएमेन्ट’का रुपमा बेलायत पुगेका प्रवलले त्यहाँ रहेरपनि चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । जसमार्फत नेपाली कला तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेका छन् ।

नेपालमा हुँदा उनी साहित्यप्रति औधी रुचि राख्थे । उनी गीत तथा कविता कोर्थे । तर, त्यतिखेरै बेलायतको यात्रा तय गरेका प्रवल भन्छन्, ‘नेपालमा भएको साहित्यकार बन्थेँ होला । साहित्यकार नभए कला क्षेत्रमै पनि हुन्थेँ ।’ बेलायत पुगेपछि नेपाली कला र संस्कृतिप्रति अझ धेरै लगाव बढेको उनको अनुभव छ । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा आर्कषण बढ्नुको मुख्य कारण पनि यही हो, जब बेलायत आएँ, तब आफ्नो देशको सम्झनामा केही गरौँ भन्ने लाग्यो । त्यसपछि फिल्म निर्माणलाई रोजेँ ।’

प्रवलले बेलायतमै बसेर हालसम्म चार वटा नेपाली फिल्म निर्माण तथा निर्देशन गरिसकेका छन् । दुई दर्जनभन्दा बढी नेपाली म्यजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् । बेलायत पुगेपछि पहिलोपटक ‘मोनिका’ नामक फिल्म बनाएका प्रवल भन्छन्, ‘जुन फिल्म युकेमै बस्दै आएका नेपालीको कथामा आधारित थियो ।’ फिल्ममा एउटी महिला पात्रलाई विषयवस्तु बनाइएको छ ।

पहिलो प्रयासस्वरुप निर्माण भएको ‘मोनिका’ दर्शकले रुचाए । त्यसपछि अझ हौसिएका उनले अर्को फिल्म बनाए, ‘कसुर’ । जुन प्रवलको दोस्रो फिल्म थियो । उक्त फिल्ममा पनि युकेमै बसोवास गर्दै आएका नेपालीहरुको अवस्थालाई पर्दामा उतारेका थिए । फिल्म ‘कसुर’सम्म आइपुग्दा प्रवलले एक कुसल फिल्मकर्मीको परिचय बनाउन सफल भए । जुन फिल्ममा तारा लामा र पुनम गुरुङ निर्माताका रुपमा रहेका छन् ।

प्रवलले त्यसपछि ‘युर्टन’ बनाए । जुन फिल्म प्रवलका लागि युर्टन बन्यो अर्थात एक कुसल निर्देशक तथा निर्माताका रुपमा उनी बेलायतदेखि नेपालसम्म चिनिए । फिल्म ‘युर्टन’ले नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको थियो । उक्त फिल्म नेपालमा अधिकांश सिनेमा हलमा रिलिज भएको थियो । प्रवल भन्छन्, ‘युर्टनलाई नेपालमा समेत रुचाए ।’ फिल्ममा चित्रण गरिएको कथाले धेरैको मन छोएको थियो । ‘नेपालीहरु विदेशमा बसेरमात्र हुँदैन, देश बनाउने हो भने आफ्नै देशका केही गर्नुपर्छ’, फिल्म ‘युर्टन’को सार थियो । उक्त फिल्म व्यवसायी रुपमा तार्गेट गरेका निर्माण गरिएको हो ।

प्रवलको अर्को महत्वपूर्ण उपलब्धी हो, ‘एटिन’ अर्थात (१८) । जुन फिल्म अहिले प्राइम एमेजोनमा रिलिज भइरहेको छ । यसबारे माथि नै उल्लेख गरिएको छ । हलिउड र बलिउड ब्लकबस्टर फिल्महरु रिलिज हुने गर्छ । जहाँ यतिखेर नेपाली फिल्म ‘एटिन’ले चर्चा पाइरहेको छ । विशेषगरी तामाङ कला, संस्कृति र रहन सहनलाई समेटेर नेपालको विकट वस्तीका नागरिकको कथालाई उतारेर अन्तर्राष्ट्रियस्तरमा फिल्म निर्माणको तयारीमा रहेको उनले आपनो योजना सुनाए ।