विद्यार्थीलाई मिलाप फाउण्डेसनको सहयोग

ललितपुर । मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी–१० चापागाउँमा रहेको श्री उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व्यवस्थापन संघ काठमाडौंले सहकार्य गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर दुलालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा १० नं. वडाका सदस्य एवम् विद्यालय व्यवस्थापन समिति चन्द्रप्रसाद न्यौपाने, प्रधानाध्यापक हरिप्रसाद काफ्ले, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लबबहादुर कार्की, युवा व्यवसायी सन्तोष रिमालको आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो । स्कुलका ६० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, मास्कलगायतका सामग्री वितरण गरिएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइन् । फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले समाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताए ।