दयाहाङ नियुफुको ब्रान्ड एम्बेस्डर

काठमाडौं । अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।

डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर फिल्ममार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग फिल्ममा समावेश भएका फिल्म सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नुहुने छ’, डेलिगेसनले जनाएको छ । फिल्महरू निशुल्क हेर्न सकिन्छ ।

दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए ।

‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्मपनि समावेश हुने रैछन्, यसले झनै उत्साहित तुल्याएको छ,’ उनले भने, ‘यो फेस्टिभल आफैंमा सांस्कृतिक आदानप्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने छन् ।