चेतनको सम्झनामा चेतन कार्की प्रतिष्ठान

काठमाडौं । गीतकार, कवि तथा फिल्मकर्मी चेतन कार्कीको नाममा चेतन कार्की प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गंगा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा फिल्मकर्मी एवं लेखक अभिनेता मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा कार्कीका छोराद्वय पारस कार्की र पंकज कार्की रहेका छन् ।

तदर्थ समितिको सदस्यहरुमा साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र कवि दिब्य गिरी रहेका छन् ।
विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली कला, साहित्य, गीत संगीत तथा फिल्मका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धबीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो ।

चेतन कार्कीले निर्देशन गरेको पहिलो फिल्म ‘विश्वास’ हो । त्यसपछि ‘मनका आँखा’, ‘भूमरी’, ‘पहिलो प्रेम’ रहेको छ । चेतन कार्कीले तत्कालीन प्रचार प्रसार विभागबाट वि सं २०२५ सालमा निर्माण भएको फिल्म ‘परिवर्तन’मा स्कृप्ट लेखेर फिल्मको यात्रा प्रारम्भ गरेका थिए ।

चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो । चेतन कार्कीले नेपाली सस्कृति, कला र साहित्य तथा चलचित्र क्षेत्रमा पुर्याउनु भएको समग्र योगदानको प्रचारप्रसार गर्दै उच्च कदर गर्ने प्रतिष्ठानले जनाएको छ ।