स्मिताले गाइन् इबादत बन गए हो

काठमाडौं । नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । भिडियोमा यो जोडीको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । उनले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाएका छन् । करीब ४ मिनेटको भिडियोमा मेकिङ उच्च देखिन्छ । गीतको भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताइन् । गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनी अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा छिन् ।