अमेरिकाको ज्याक्सन हाइटमा थेत्लङ

काठमाडौं । लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बा अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन हुन लागेको हो ।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई फिल्म निर्देशक तथा लेखक सागर केरुङले फिल्मको पटकथामा ढालेका छन् ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे फिल्ममा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ ।

मणि ताम्लिङ निर्माता रहेको फिल्ममा विराज लिम्बु सहनिर्माता छन् । यो फिल्म काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । फिल्म हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ । फिल्मले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ ।

फिल्म प्रदर्शनका लागि किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समिति बनाइएको छ । जसमा निर्देशक किशोर सुब्बा, लोक चेम्जोङ, वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ, सम्राट कार्की, केशवराम राई र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ सदस्य छन् ।