रानू मण्डलको बायोपिक तयारी

मुम्बई(एजेन्सी) । सामाजिक सञ्जालमा आफ्नो स्वरका कारण रातारात स्टार बनेकी रानू मण्डलको बायोपिक बन्ने भएको छ । ऋषिकेश मण्डलले निर्देशन गर्ने फिल्मको नाम ‘मिस रानू मारिया’ हुनेछ । फिल्ममा इशिका डेले रानूको भूमिका निभाउनेछिन् । इशिकाले कैयां बंगाली र हिन्दी फिल्ममा काम गरेकी छन् ।

गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गीत रानूले गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी सारा भारतमा चिनिइन् । त्यसपछि संगीतकार हिमेश रेशमियाले उनलाई आफ्नो फिल्म ‘ह्यापी हार्डी एण्ड हीर’मा एक गीत गाउन लगाए ।

तर हिमेशको एक मौकापछि रानु गायब भइन् । सुरुवातमा यो फिल्म बंगाली भाषामा बनाउने तयारी थियो । तर निर्माताले हिन्दीमा पनि बनाउने निर्णय लिए । यसका लागि निर्माताले हिमेशलाई प्रस्ताव गरेका छन् । अभिनेत्री इशिकाले रानूको यात्रा रोचक र उतारचढावपूर्ण रहेकाले आफू काम गर्न उत्सुक भएको बताइन् । यो फिल्ममा इशिकालाई रानूको लुक्समा आउनका लागि निकै मेहनत गर्नुपरेको छ ।

उनले पछिल्लो दुई महिनामा २० किलो वजन घटाएकी छन् । रानूले १२ वर्षसम्म प्लेटmफर्ममा मागेर गुजारा चलाएकोले त्यो गेटअपमा आफूलाई ढाल्न निकै मेहनत गरिरहेको उनले बताइन् । इशिकाले अहिलेसम्म रानूलाई भेटेकी छैनन् किनकी उनी कोलकातामा छिन् । यद्यपि इशिकाले चाँडै नै भर्चुअल्ली रानूसँग भेट्ने तयारी गरेकी छन् । फिल्मको सुटिङ नोभेम्बरमा कोलकाता र मुम्बईमा सुरु हुनेछ । यसको रिलिज २०२२ को मार्च–अप्रिलमा हुनेछ ।