क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनितलाई प्रमाणपत्र

काठमाडौं । ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’को विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्नेहरुलाई काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आउदै गरेको दशैं छेको पारेर यो अवार्ड आयोजना गर्न लागिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्माता, निर्देशक नरेश पौड्याल, गायक शिव परियारलगायतले अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान गरे ।

फिल्म, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको अहिले गीतसंगीत अन्तर्गत लोक, आधुनिक, पप आधुनिक, लोकदोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायकगायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनि मिश्रणजस्ता विधामा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

म्युजिक भिडियोअन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सुची क्वालिटी फिल्मले तीन दिन अघि बुधबार सार्वजनिक गरेको थियो । यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायांकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

दोश्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफुहरुले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्स्का अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।